राष्ट्रको आर्थिक र सामाजिक जीवनमा रचनात्मक परिवर्तन ल्याउने छौं: प्रधानमन्त्री प्रचण्ड
काठमाडाैं | बैशाख १, २०८०
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रको आर्थिक र सामाजिक जीवनमा रचनात्मक परिवर्तन ल्याउने बताउनु भएको छ ।
नयाँ वर्ष २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्रीले भन्नुभएको छ, ‘‘यो वर्ष केवल क्यालेण्डर परिवर्तन गर्ने छैनौं, राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउनेछौं ।’’
साथै उहाँले यो वर्ष भरोषा र आशाको वर्ष हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्रीले दिनुभएको शुभकामनाको पूर्ण विवरण यसप्रकार छ :
आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू,
नयाँ वर्ष २०८० को पुनित अवसरमा देश तथा विदेशमा रहनुभएका समस्त नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । मलाई विश्वास छ, नयाँ वर्ष हामी आफैंमाथि भरोषा र आशाको वर्ष हुनेछ ।
हरेक नयाँ वर्ष एउटा सुरुवात हो । विगतको समीक्षासहित नयाँ संकल्प गर्ने दिन हो । हामीले आत्मसमीक्षा गर्नैपर्छ तर हामीलाई निराश हुने छुट छैन ।
राष्ट्र–निर्माणको साझा संकल्पका लागि नयाँ वर्षभन्दा उपयुक्त समय अरु हुनै सक्दैन । राष्ट्रले मलाई दिएको भूमिकामाथि आभार प्रकट गर्दै प्रधानमन्त्रीका रूपमा म समस्त नेपाली जनसमुदायसँग संकल्प गर्दछु, नयाँ वर्षका मेरा हरेक दिन र हरेक क्षण संविधानको कार्यान्वयन, गणतन्त्रको सुदृढीकरण, स्थिरता र समृद्धिका लागि समर्पित हुनेछन् । मेरा केही ठोस संकल्प छन् । निर्देशनको तहलाई कार्यान्वयनमा लैजान परम्परागत अवरोधबीच पनि यो बीचमा सकारात्मक सुरुवात भएको छ । अर्थतन्त्रमा देखिएका संकट र चुनौती क्रमशः कम हुँदै गएका छन् । वैदेशिक रोजगार व्यवस्थित हुँदै गएको छ, श्रमिकको अधिकार सुरक्षित गर्न महत्वपूर्ण सामाजिक सुरक्षा अभियानमा उनीहरू जोडिएका छन् । नागरिकले प्राप्त गर्ने सेवाहरू झन्झटमुक्त बनाउने अभियान सुरू भएको छ ।
बैंक ब्याजदर कम हुँदै गएको छ । व्यवसायीहरुको बैंक ब्याज सम्बन्धी चिन्तालाई सम्बोधन गर्न सकारात्मक छलफल भइरहेको छ । राजश्व संकलनमा वृद्धि भइरहेको छ । परम्परागत प्रकृतिको विकासको मोडेल र योजना तर्जुमा प्रक्रियामा हामी क्रमभंग गर्न गइरहेका छौं । एउटा सकारात्मक वातावरण बनिरहेको छ तर हाम्रै पुस्ता र नयाँ पिँढीको गुणस्तरीय भविष्यका लागि हामीले अझै धेरै मेहेनत गर्नु छ । सामूहिकताको संस्कृति विकास गर्दै थुप्रै चुनौतीलाई सहमति र सहकार्यबाट परास्त गरेका सफल अनुभव हामीसँग छन् । नयाँ वर्षलाई पनि सहमति र सहकार्यमार्फत समृद्ध नेपालको आधार निर्माण गर्ने वर्षका रूपमा मनाउन म आम जनसमुदायमा विशेष अपील गर्दछु । नयाँ वर्षमा हामी विश्वास,आशा र साहसका साथ राष्ट्रका कमजोरी होइन, राष्ट्रका क्षमता उजागर गर्नेछौं ।
संकल्प गरौं, सिंगो राष्ट्रको साझा संघर्ष र संकल्पबाट यो वर्ष केवल क्यालेण्डर परिवर्तन गर्ने छैनौं, राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउनेछौं । २०८० लाई राष्ट्रिय उपलब्धिहरूको ऐतिहासिक वर्ष बनाउने प्रणसहित समस्त नेपाली जनसमुदायको शान्ति, प्रगति र सुस्वास्थ्यको कामना गर्दछु ।
धन्यवाद ।
१ बैशाख, २०८०
पुष्पकमल दाहाल ‘प्रचण्ड’

पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

